साँकेतिक तस्बिर
सप्तरी । सप्तरीको खमगढामा ज्वाईले कुटपिट गरेर ससुराको हत्या गरेका छन् । ससुराली घरमा बस्दै आएका ज्वाईको कुटपिटबाट सप्तरीको बोदे बर्साईन नगरपालिका–६ खमगढाका ५५ वर्षीय छठु महतोको मृत्यु भएको सप्तरी प्रहरीले पुष्टी गरेको हो ।
ज्वाईं रामचन्द्र महतोको कुटपिटबाट शनिबार ससुरा छठुको मृत्यु भएको प्रहरीले जनाएको छ । बोदे बर्साइन नगरपालिका–७ घर भई खमगढास्थित ससुराली घर बस्दै आएका २५ वर्षीय रामचन्द्रले मादक पदार्थ सेवन गरी पुस ११ गते राति ससुरालाई कुटपिट गरेका थिए ।
सोही दिन ससुराली आएका छोरी र ज्वाईबीचको झगडा हुदा छुट्याउन गएका छटुमाथि ज्वाईरामचन्द्रले कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ ।
कुटपिटबाट छठु महतोको नाक, मुख, टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको थियो । छठुको स्थानिय स्वास्थ्य संस्थामा प्राथमिक उपचार पश्चात धरान घोपामा उपचार गरिएको थियो ।
कुटपिटबाट घाइते ससुरा लामो उपचारपछि चैत १८ गते मात्र घर फर्किएका थिए । चिकित्सकले घाइते हिडहुल गर्न असमर्थ रहने जनाएका थिए । औषधि उपचार चलिरहेकै बेला ससुराको घरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।


