नेविसंघका बागी उम्मेदवार सुशील विष्ट
काठमाडौँ । पाटन संयुक्त क्याम्पसमा नेपाल विद्यार्थी संघबाट बागी उम्मेदवार दिएका सुशील विष्ट सभापतिमा विजयी भएका छन् ।
शनिबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट बागी उम्मेदवार विष्ट विजयी भएका हुन् ।
गत चैत ५ गते हुनुपर्ने निर्वाचन आन्तरिक कारणले स्थगित भए पछि शनिबार निर्वाचन गरिएको थियो । निर्वाचनमा विष्टले ८४१ मत पाएर विजय भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले समर्थित अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत पाएका थिए ।
त्यस्तै गरी, नेकपा माओवादी समर्थित अखिल क्रान्तिकारीका वीरेन्द्र मगर मदनले ६३७ मत पाए । कांग्रेस निकट नेपाल विद्यार्थी संघका उम्मेदवार युवराज लामा थिङ भने केबल ३४६ मत मात्र पाएका थिए ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले थिङलाई स्ववियु सभापतिको टिकट दिएपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
पाटन संयुक्त क्याम्पसमा २ हजार ६७९ मत खसेको थियो ।


