काठमाडौं । सिंहदरबारको फोहोर व्यवस्थापनबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आक्रोशित अभिव्यक्ति दिएपछि शहरी विकास मन्त्रालयले क्षेत्राधिकारबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ ।
शहरी विकासमन्त्री सीता गुरुङले आउँदो सोमबारका लागि तालुकदार निकायबीचको बैठक र त्यसलगत्तै पत्रकार सम्मेलन गर्ने गरी मन्त्रालयका सचिवलाई निर्देशन दिएकी छन् ।
शनिबार बिहानै काठमाडौंका मेयर बालेनले सिंहदरबारको फोहोर आजदेखि नउठाउने घोषणा गरेका थिए ।
संघीय सरकारबाट असहयोग भएको गुनासो गर्दै आएका उनले साँच्चिकै देश सफा गर्ने भए सिंहदरबारका नेतालाई सिसडोलमा लगेर फाल्नुपर्ने आक्रोशित अभिव्यक्तिसमेत दिएका छन् । उनले सामाजिक सञ्जालमा ‘नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ’ भनेर लेखेका छन् ।
यता शहरी विकासमन्त्री गुरुङले फोहोर व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाकै भएको भन्दै सोमबार छलफलको लागि मिटिङ राखिएको जानकारी दिइन । उनले बैठक लगत्तै पत्रकारहरूलाई आ–आफ्नो क्षेत्राधिकारबारे जानकारी गराउने जानकारी दिईन । मन्त्री गुरुङले मन्त्रालयका तर्फबाट महानगरलाई सयोग नै गरेको बताइन् ।
यसअघि रामकुमार झाँक्री शहरी विकासमन्त्री भएका बेला समेत महानगर र मन्त्रालयबीच कार्यजिम्मेवारीलाई लिएर विवाद देखिएको थियो ।
फोहोर व्यवस्थापनमा बल गरिरहेका मेयर बालेनले प्रभावकारी नतिजा हात नपर्नुको मुख्य कारण नै संघीय सरकार भएको आरोप लगाउदै आएको छ ।


