एजेन्सी । जापानमा प्रख्यात ‘युट्युबर’ साँसद गासीलाई साँसद पदबाट निष्कासन गरिएको छ । सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थिति नभएका उनलाई मङ्गलवार संसदबाटै निष्कासन गरिएको हो ।
गएको जुलाईमा निर्वाचित योशिकाजु हिगाशितानी (गासी) अनिवार्यरूपमा उपस्थित हुनुपर्ने संसदीय बैठक एवम् अधिवेशनमा एक पटक पनि उपस्थित नभएपछि जापानको माथिल्लो सदनले मङ्गलवार निष्कासन गरेको हो । उनी बिरुद्वको निर्णय आज बुधवारदेखि लागू भएको छ ।
गासी उपनामले चिनिने योशिकाजु ७० वर्षपछि जापानको संसदबाट निष्कासित हुने पहिलो सांसद भएका छन् । यसअघि सदनले उनलाई महिनौँ लामो अनुपस्थितिका लागि क्षमायाचना गर्न आदेश दिएको थियो तर उनले त्यसको बेवास्ता गरेका थिए ।
५१ वर्षीय उनको दलबाट २ जना सांसद निर्वाचित भएका थिए ।



