काठमाण्डौं । गोरखाका सोनाम तामाङ बन्यजन्तुको आखेटोपहार सहित राजधानीको नागढुङ्काबाट पक्राउ परेका छन् ।
गोरखा पालुङटार नगरपालिका–५ ठाटीपाेखरी घर भएका ६५ वर्षीय तामाङलाई सोमबार साँझ चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट विभिन्न वन्यजन्तुको आखेटोपहार सहित प्रहरीले पक्राउ गरेको हो ।
वीरगंजबाट काठमाण्डौंतर्फ आउँदै गरेको ना.५ ख ५८६४ नम्बरको बसलाई नागढुंगास्थित चेकप्वाईन्टमा प्रहरीले चेक जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई २ थान हुचिलको खुट्टा जस्तो देखिने बस्तु, २ थान हुचिलको पञ्जा जस्तो देखिने बस्तु, २ थान हाल एकिन हुन नसकेको हड्डी, ४ सय ग्राम एकिन हुन नसकेको जनावरको सुकुटी, ३ थान शंख जस्तो देखिने वस्तु, १ थान सेतो टल्कने ढुङ्गा र नगद ४० हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो ।
शंख र ढुंङ्गा आवश्यक अनुसन्धानको लागि पुरातत्व विभाग रामसाहपथ पठाईएको छ भने तामाङलाई आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाण्डौं बुझाईएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।




















