गोरखा । गोरखामा केही साता यता कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । यही बिचमा खुकुलो निषेधाज्ञाका कारण भिडभाड क्षेत्रमा सुरक्षा सावधानी अपनाउनेहरुको संख्यामा पनि कमी आएको भन्दै जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र गोरखाले संयुत्त रुपमा ‘तपाईको मास्क खोई’ अभियान सञ्चालन सुरु गरेको छ ।
आइतबार सदरमुकामको विभिन्न क्षेत्रमा प्ले कार्ड, ब्यानर र माईकीङ गर्दै प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, गोरखा नगरपालिकामा उप मेयर बिनाकुमारी श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक शेखर खनाल र सामुदायिक सेवा केन्द्र गोरखाका अध्यक्ष कैलासबावु श्रेष्ठको नेतृत्वमा बजार परिक्रमा गरिएको थियो ।
बजार परिक्रमाको क्रममा मास्क नलाई हिड्ने बटुवा, सवारी धनी, सार्वजनिक सवारीमा यात्रा गरीरहेका यात्रु तथा नाबालक र जेष्ठ नागरिकलाई नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा गोरखाबाट प्राप्त निशुल्क मास्क बितरण गरिएको थियो ।
बजार परिक्रममा गर्दा मास्क नलगाएका तथा लगाएर पनि सुरक्षा नपुगेकाहरुलाई मास्क लगाउने तरीका सिकाईएको थियो ।
सामुदायिक सेवा केन्द्रको कार्यालय देखी शुरु भएको रयालीले लोकतान्त्रिक चोक, शत्ति चोक, पुरानो बसपार्क, नयाँ बजार, छिपीटोर र नयाँ बसपार्क हुदै जिल्ला प्रशासन कार्यालय चोकमा आएर कार्यक्रम समापन गरिएको केन्द्रले जनाएको छ ।

































