काठमाण्डाैं । गोरखा जिल्ला पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक भएको छ । नेपाल सरकारले बुधबार गोरखा सहित २२ जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेको तथ्यांक सार्वजनिक गरेको हो ।
गोरखा सहित मोरङ, सप्तरी, सर्लाही, पर्सा, सिन्धुपाल्चोक, धादिङ, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कास्की, स्याङजा, दाङ, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट र बझाङ पनि सरकारी तथ्यांकमा उच्च जोखिममा रहेको जिल्लामा परेका छन् ।
यता हिजै सरकारले १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ । जसमा झापा, सिरहा, धनुषा, महोत्तरी, रौतहट, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी, अछाम र बाजुरा जिल्ला परेका छन् ।
निषेधाज्ञा खुकुलो पारिनु तथा हेलचेक्र्याइँ पनि कोरोना संक्रमण बढ्नुको मुख्य कारक तत्व भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ठहर गरेको छ । मन्त्रालयका अनुसार विगतभन्दा संक्रमणदर बढ्दै गएको भन्दै यस्तै अवस्था रहेमा स्वास्थ्य संस्थामा आउनेको संख्या बढ्ने र व्यवस्थापन गर्न गाह्रो हुने जनाएको छ ।
विज्ञहरुले कोरोना महामारी नियन्त्रणको एउटै विकल्प खोप भएको भन्दै खोप जतिसक्यो चाँडै लगाउनुपर्ने सुझाव दिएका छन् । हालसम्म मुलुकभर ८८ लाख ८२ हजार ८५० डोज प्राप्त भएको र त्यसमध्ये ५० लाख ४७ हजार ३५५ डोज प्रयोग भइसकेको मन्त्रालयले जनाएको छ ।
जस मध्ये ३५ लाख ४४ हजार ४३ जना व्यक्तिले पहिलो डोज खोप लगाइसकेका छन् भने १५ लाख ३ हजार ३१२ जनाले पूर्णडोज लगाइसकेका छन् ।
सरकारी तथ्यांकले गण्डकी प्रदेशमा परीक्षण गरेका हरेक ३ जनामध्ये २ जनामा संक्रमण पुष्टि हुने गरेको छ । मन्त्रालयले तेस्रो लहरको सम्भावना रोक्न समय भएको सबैले सचेतपूर्ण व्यवहार र आवश्यक तयारी गर्नुपर्ने जनाएको छ ।




















