साँकेतिक तस्बिर
काठमाण्डौं । प्रहरीले कोकिन ओसारपसारका नाइके गोरखा सुरज गुरुङलाई चितवनबाट पक्राउ गर्न सफल भएको छ ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो काठमाण्डौंको विशेष टोलीले १ किलो कोकिनसहित गुरूङलाई चितवनबाट पक्राउ गरेको पुष्टी गरेको हो ।
गत शुक्रबार ५०० ग्राम कोकिनसहित काठमाण्डौं महानगरपालिका १६ पकनाजोलबाट ४ जनालाई पक्राउ गरेको ३ दिनपछि सुरज गुरुङलाई १ किलो कोकिनसहित ब्यूरोको विशेष टोलीले चितवनबाट पक्राउ गरेको ब्यूरोले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार कोकिनको ओसारपोसार गर्ने गिरोहको मुख्य नाइके गुरूङ भएको जानकारी दिएको छ । यसअघि पक्राउ परेका व्यक्तिहरूबाट बरामद भएको कोकिनपनि गुरूङकै भएको प्रहरीले खुलासा गरेको छ ।
पकनाजोलबाट पक्राउ परेका गोरखा नगरपालिका ६ स्थायी घर भई हाल काठमाण्डौंको नागार्जुन बस्ने २९ वर्षीय मुकुन्द खड्का, गोरखा नगरपालिका ८ का रेशमबहादुर राना, सुर्खेत गर्भाकोट नगरपालिका स्थायी घर भई काठमाण्डौं नागार्जुन बस्ने २८ वर्षीय नन्दलाल मान्त, गोरखा आरुघाट गाउँपालिका ६ स्थायी घर भई काठमाण्डौंको टोखा बस्ने ३२ वर्षीय प्रहरी जवान एकराज गुरुङ र गोरखा गण्डकी गाउँपालिकाका मन गुरुङ छन् ।
उनीहरुको साथबाट अवैध लागुऔषध कोकिन ५०० ग्राम, सुनजस्तो देखिने पहेँलो धातु २ किलो ४०० ग्राम बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी स्रोतका अनुसार २ पटकमा बरामद गरिएको कोकिनको अन्तराष्ट्रिय बजार मुल्य कम्तिमा ३ करोड ३० लाख भन्दा बढी हुन्छ ।
सुरुमा पक्राउ परेका व्यक्तिहरुको बयानपछि सुरज गुरुङलाई पछ्याउँदै जाँदा ब्यूरोको टोलीले आज (आइतबार) चितवनबाट पक्राउ गरेको हो ।




















