गोरखा – गोरखा जिल्लामा आजदेखि लक्षित समूहलाई कोरोना बिरुद्वको खोप लगाउन सुरु गरिएको छ । ५५ बर्षदेखि ६२ बर्ष उमेर समुहका नागरिक सहित पहिलो चरणमा छुटेका सवै, सार्वजनिक सवारी साधनका चालक र सहचालक, बिधालयका शिक्षक, कर्मचारीलाई कोरोना बिरुद्धको खोप लगाउन सुरु गरिएको हो ।
जिल्लामा भित्रका स्थानीय तहहरुमा सरकारले तोकेको लक्षित समुहलाई आजदेखि चीनबाट खरिद गरेर ल्याइएको भेरोसिल्ड खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय गोरखाका खोप तथा कोलचेन निरीक्षक ऋषिराम खत्रीले जानकारी दिए ।
भेरोसिल्ड खोप पहिलो चरणमा जिल्ला भित्र करिब १० हजार १९३ जनालाई दिने लक्ष्य लिएको स्वास्थ्य कार्यालयले जनाएको छ । भेरोसिलको पहिलो चरण अन्तरर्गत करिब १३ हजार डोज खोप प्राप्त भएको समेत कार्यालयले जानकारी दिएको छ ।
प्राप्त खोप स्थानीय तहमा भएको जनसंख्याको आधारमा उपलब्ध गराइने छ । बुधबार देखी गोरखा नगरपालिका भित्रको १४ वटै बडामा खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणमा भेरोसिल्ड खोप लगाएकाहरुका लागि दोस्रो चरणको खोपकालागि १७ हजार ९०० डोज पोखरामा स्टक राखिएको कोलचेन निरिक्षक खत्रीले बताए ।




















