गोरखा – नेपाल पत्रकार महासंघ गोरखा शाखाले सदरमुकाममा शुभकामना तथा सम्मान न कार्यक्रम गरेको छ ।
नयाँ बर्षको अवशरमा शाखाले आयोजना गरेको कार्यक्रममा जिल्लाबाट प्रदेशमा निर्वाचित भएका कैलासबावु श्रेष्ठ र राजेन्द्र न्यौपानेलाई सम्मान गरेको हो ।
हालै सम्पन्न निर्वाचनमा श्रेष्ठ सचिवमा र न्यौपाने कोषाध्यक्षमा निर्वाचित भएका थिए । दुवैलाई दोसल्लाह ओडाएर सम्मान गरिएको नेपाल पत्रकार महासंघ गोरखा शाखाका सचिव विकास मरहट्टाले बताए ।
जिल्ला अध्यक्ष नरहरी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेशका अध्यक्ष नारायणप्रसाद शर्मा, विशेष अतिथी जिल्ला समन्वय समितिका प्रमुख असोककुमार गुरुङ, उपप्रमुख जनुका अधिकारी, गोरखा नगरपालिका उपप्रमुख बिनाकुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदिप काफ्ले, नेपाल प्रेस यूनियनका महासचिव अजयबावु सिवाकोटीले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी र संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
जिल्लाका पदाधिकारीलाई स्वागत र सम्मान
चैत्र २५ गते निर्वाचित पत्रकार महासंघ गोरखा शाखाका पदाधिकारीहरुलाई पनि विभिन्न संघ संस्थाले स्वागत र सम्मान गरेको छ ।
बुधबार जिल्लामा नेपाल लोक तथा दोहोरी गित प्रतिष्ठान गोरखा र नेपाल ट्रेड यूनियन काँग्रेसले स्वागत र सम्मान गरेको हो ।
सम्मान कार्यक्रम पछि लोक दोहोरी प्रतिष्ठानले लोक संगितको जर्गेना र कलाकारको प्रबद्र्वनमा कलम चलाइदिन आग्रह गरेका थिए ।
यता ट्रेड यूनियनले सबै श्रमजिवि एक भएर पेशागत हकहितमा आवाज उठाउनुपर्नेमा जोड दिएका थिए ।
ब्रहकुमारी विश्व बिद्यालय गोरखा शाखाले पनि निर्वाचित पत्रकारहरुलाई सम्मान गरेको छ । आश्रममा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका अध्यक्ष नारायणप्रसाद शर्मा, सचिव कैलासबावु श्रेष्ठ र गोरखा शाखाका अध्यक्ष नरहरी सापकोटालाई सम्मान गरिएको हो ।




