गोरखा – गोरखाको भच्चेक बजारमा जुवा खेलेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको अजिरकोट गाउँपालिका ३ को भच्चेक बजार स्थित भिमराज गुरुङको घरबाट अजिरकोट गाउँपालिका ३ का बतासे भन्ने सुगम गुरुङ, अमिर गुरुङ, सोमबहादुर गुरुङ, बिकास गुरुङ, ठाकुर बयलकोटी र प्रकाश पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा भिमराजको घरमा प्रहरीले छापा मार्दा उनीहरु कौडा र नगद सहित फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रकाश दाहालले बताए ।
सबैलाई मङ्गबार बिहान १२ः३० (बोली चालीमा सोमबार राती) बजे नियन्त्रणमा लिईएको प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले जुवा खालबाट १६ थान कौडा र ९ हजार ५९५ रुपैयाँ जफत गरेको छ ।
पक्राउ परेका सबैलाई जुवा सम्बन्धि कसूर मुद्वा दर्ता गरी थप अनुसन्धान भई रहेको कार्यालयले जनाएको छ ।




















