गोरखा – गोरखा जिल्लामा बसोबास गर्ने बराम जातीको निःशुल्क स्वास्थ्य बिमा गर्न थालिएको छ । बराम जातीहरुको ठुलो बसोबास रहेको बारपाक सुलिकोट गाँउपालिकाले बराम जातीको निःशुल्क स्वास्थ्य बिमागर्न थालेको हो ।
बारपाक सुलिकोट गाँउपालिकाको अधिकाशं वडामा बसोबास गर्ने बराम जातीको पालिकाले निःशुल्क रुपमा स्वास्थ्य बिमा गर्न थालेको हो । पालिकाको वडा नम्बर १ र २ को बारपाक बाहेक सबै वडामा बराम समुदायको बसोबास रहेको छ ।
०६८ सालको जनगणना अनुसार बारपाक सुलिकोटमा बराम जातीको ६६२ घर धुरी बसोबास रहेको छ । त्यस मध्ये अहिले सम्म स्वास्थ्य बिमा बोर्डले ५१३ घरको २ हजार २३ जनाको बिमाको काम सम्पन्न गरिसकेको छ । ‘अब ५ नम्बर वडाको ताकुमाझ लाकुरी बोटको १४९ घर धुरीको बिमाको काम बाँकी रहेको’ स्वास्थ्य बिमा बोर्ड गोरखाका कार्यालय प्रमुख बिशाल लौडारीले जानकारी दिए ।
पालिकाले हाल सम्म बोर्डलाई बराम जातीको स्वास्थ्य बिमा गराए बापत १९ लाख २३ हजार ५५० रुपैयाँ भूक्तानी दिईसकेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले बताए ।
पालिकालाई राष्ट्रिय योजना आयोग मार्फत आएको विशेष अनुदान मार्फतको १ करोड रुपैयाँबाट बराम जातीको स्वास्थ्य बिमा गराईएको हो । ‘हामीलाई राष्ट्रिय योजना आयोग मार्फत विशेष अनुदान मार्फत प्राप्त रकम मध्ये स्वास्थ्य बिमा र पोषण सहयोगमा ३८ लाख बिनियोजन गरिएको त्यसैबाट बराम जातीको स्वास्थ्य बिमा गराईएको’ प्रमुख प्रशासकिय अधिकृत भडारीले बताए । उत्त रकमबाट बचेको पैसा भने पोषणमा खर्च गरिने गाँउपालिकाले जनाएको छ ।
बाँकी मराम जातीको पनि केही दिन भित्रै स्वास्थ्य बिमाको काम सम्पन्न गर्ने लक्ष्य पालिकाले लिएको छ । तर सरकारी जागिर खाएका र पेन्सन बुझनेहरुलाई भने यो बिमा सुविधा दिईएको छैन ।




















