गोरखा – अबैध रुपमा सालको गोलिया सहित सालका अन्य काठ लुकाएर लैजाने क्रममा गोरखा प्रहरीले कन्टेनर सहित चालकलाई नियन्त्रणमा लिएको छ ।
बिशेष सूचनाको आधारमा जिल्लाको पालुङटार नगरपालिका १ को चिसापानी क्षेत्रबाट सालको गोलिया र केही चिरान गरिएको काठ सहित कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाले उपलब्ध गराएको सूचना अनुसार ना.३ ख ६७८३ नम्बरको ट्रक (कन्टेनर)मा लोड गरिराखिएको अबस्थामा ९ थान सालको गोलिया र चिरान गरिएको २० थान सालको काठ फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी नायव उपरिक्षक प्रकाश दाहालले बताए । ‘हामीले विशेष सूचनाको आधारमा चिसापानी क्षेत्रमा सर्च गर्दा कन्टेनर भित्र लुकाई राखेको अवस्थामा उत्त परिणामको सालको काठ सोमबार फेला पारेको हो’ प्रनाउ दाहालले ‘मङ्गलबार मुचुल्का तयार पारी डिभिजन बन कार्यालय गोरखामा काठ, कन्टेनर र चिरान साल पठाइएको’ बताए ।
यता डिभिजन बन कार्यालय गोरखामा डिभिजनल बन अधिकृत असोककुमार श्रेष्ठले भने प्रहरीबाट बरामद भएको काठ, सवारी साधान र चालकलाई अफिसमा बुझाएको पुष्टी गर्दै उत्त काठ गोरखा दरर्बारकोलागी आएको भन्ने बुझीएको र थप अनुसन्धान बाँकी रहेको बताए । अधिकृत श्रेष्ठका अनुसार काठको कुनै पनि कागजपत्र फेला नपरेको र भोली सम्ममा बयान लिए पछि मात्र थप कुरा पुष्टी हुने बताए ।
काठमाण्डौबाट ल्याएको भनिएको उत्त काठ गोरखा दरर्बारकोलागि भए किन सदरमुकाम तर्फ नल्याएर गाउँ तिर लगियो भन्ने कुरा रहस्यमय देखिएको छ ।
प्रहरीले कार्यालयले सिन्धुपाल्चोक भोटेकोशि गाउँपालिका ३ दुगुनागढी घर भएका चालक २५ बर्षका सुकमान कामीलाई समेत डिभिजन बन कार्यालयमा बुझाएको छ ।





















