गोरखा – गोरखाको बारपाकमा एकै घरमा ३ जनाको मृत्यु भएको घटना निशासियर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
जिल्लाको बारपाक सुलिकोट गाउपालिका १ को बारपाकमा हिजो साँझ खाना खाएर सुतेका ससुरा, बुहारी र नातिनी गरी ३ जनाको मृत्यु भएको थियो ।
घटना स्थलमा अहिले जौबारीको प्रहरी टोली पुगि सकेको र घटना प्रकृती मुचुल्का लिने काम भई रहेको र स्थानिय संग सोधपुछ भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले बताए । ‘सानो कोठामा आगो बालेर सुतेको रहेछ’ प्रउ गुरुङले भने ‘सोही कारण अक्सिजनको कमी भएर मृत्यु भएको हुन सक्ने हाम्रो अनुमान हो ।’ उनले भने तर पनि हामीले अझै अनुसन्धान गर्दै छौ ।
मृत्तकलाई कोही कसैले हत्या गरेको कुनै पनि प्रमाण फेला नपर्नुले पनि प्रहरीले निशासियर मृत्यु भएको अनुमान गरेको हो । सानो कोठा र झयाल पनि सानो भएका कारण धुवाले निशासियर तिनै जनाको मृत्यु भएको प्रहरीले प्रारम्भीक अनुमान गरेको हो ।
मृत्तक तिनै जनालाई जौबारी स्थित स्वास्थ्य चौकीमा लैजाने तयारी भई रहेको छ । उनीको पोष्टमार्टम पछि मात्र शव आफन्तलाई बुझाईने प्रहरीले जनाएको छ ।
उत्त घटनामा परी ८४ बर्षका दिलबहादुर गुरुङ, २२ बर्षकी आइतकुमारी गुरुङ र १३ बर्षिया उषा गुरुङको मृत्यु भएको थियो ।




















