गोरखा – गोरखाको बाह्रकिलो बजारमा आइतबार दिउसो भएको यात्रुबाहक बस दुर्घटनामा परी ७ जना घाईते भएका छन् । घाईते मध्ये ६ जना उपचार पछि घर फर्किएका छन् भने १ जना बालकको थप उपचारकालागि भरतपुर लगिएको छ ।
गोरखा नगरपालिका ११ को बाह्रकिलो बजारमा चालकको लापरर्वाहीका कारण भएको दुर्घटनामा परी गोरखा नगरपालिका २ का ६ बर्षिय बालक आर्मन खानलाई गोरखा अस्पतालमा सामान्य उपचार पछि थप उपचारकोलागि चितवन मेडिकल कलेज लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख सुरेन्द्रबहादुर गुरुङले बताए । बालकको दायाँ हात भाचिएको गोरखा अस्पतालले जनाएको छ ।
गोरखा बजारबाट नारायणगढ तर्फ जादै गरेको ना.१ ख ४१०४ नम्बरको बस रोकेर चालक बाहिर निस्कीएको बेला एक्कासी बस गुडेको थियो । बस सडकसंगै रहेको जंगलमा खसेको थियो ।
बस गुडे पछि केही यात्रु हाम फालेको र बसको अग्र भागले मोटर साईकललाई ठक्कर दिएको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे छ ।




















