गोरखा – जिल्लाको विभिन्न स्थानमा चोरी गरेको २ थान मोटरसाईकल सहित चोरी गर्ने ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।
गोरखा प्रहरीले चोरी गरेको २ थान २२० को पल्सर मोटरसाईकल सहित लमजुङ जिल्ला दुधपोखरी गाउँपालिका १ का रमेश भट्टराईलाई नियन्त्रणमा लिन सफल भएको हो ।
माघ १२ गते जिल्लाको पालुङटारमा नगरपालिकाको ठाँटीपोखरीमा प्रहरीको चेकिङमा प्रदेश ३–०२–००२ प ६८८६ नम्बरको मोटरसाईलक भट्टराईले कागजपत्र बिना चलाएको पाइए पछि नियन्त्रणमा लिएको र घरबाट कागजपत्र लिएर आउछु भनेर हिडेका भट्टराईले बाटोमा अपरिचीत संग लिफ्ट लिएका थिए ।
लिफ्ट लिएको बा. ६८ प ११०९ का मोटर धनी संग आफुले पनि यस्तै मोटरसाईकल किन्न लागेकोले एक पटक टेष्ट ड्राईभ गर्न आग्रह गरेको सोही मोटरसाईलक लिएर बेपत्ता भएका भट्टराईलाई प्रहरीले माघ १३ गते सिरानचोक गाउँपालिका ८ को गोपाल डाँडाबाट प्रहरीले चोरी भएको मोटरसाईकल र भट्टराईलाई नियन्त्रणमा लिन सफल भएको गोरखाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले बताए ।
पालुङटारको ठाँटीपोखरीमा प्रहरीको चेकिङका क्रममा फेला परेको भट्टराईले चलाएको प्रदेश ३–०२–००२ प ६८८६ नम्बरको मोटरसाईलक भने माघ १० गते गजुरी गाउँपालिका २ को मलेखुबाट चोरी गरी ल्याएको तथ्य खुलेको छ ।
प्रहरीले नियन्त्रणमा लिएका भट्टराईलाई स्वास्थ्य जाँच गराउन गोरखा अस्पताल लाने क्रममा हतकडी सहित भाग्ने प्रयास गरेको र प्रहरी हवल्दारले नियन्त्रणमा लिदा उनको देब्रे हातमा दातले टोकेर घाईते समेत बनाएका छन् ।
गोरखा प्रहरीले भट्टराई बिरुद्व गोरखा जिल्ला अदालतमा चोरी मुद्वा दर्ता गराएर १० दिनको म्याद थप गराएर अनुसन्धान थालेको छ । प्रहरीले भट्टराईबाट चोरीको ठुलो गिरोह पत्ता लाग्न सक्ने अनुमान गरेको छ ।




















