गोरखा – जिल्लामा बुधबार देखी सुरु भएको कोरोना बिरुद्धको खोप अभियानमा ११५ जनाले खोप लगाएका छन् ।
सरकारी नियमानुसा पहिलो चरणमा खोप पाउनेहरु मध्ये ११५ जनाले खोप लगाएको गोरखाका अस्पतालले पुष्टी गरेको हो । पहिलो खोप भने मेडिकल सुपरिटेण्डेन्ट डा.शान्ति भूर्तेलले लगाएर अभियानको थालन गरिएको सूचना अधिकारी कृष्ण ढकालले बताए ।
खोप लगाउनेहरुमा ५८ जना स्वास्थ्यकर्मी, ५१ जना महिला स्वास्थ्य स्वयसेविका, ५ जना कार्यालय सहयोगी र २ जना एम्बुलेन्स चालक रहेका छन् । पहिलो चरणको पहिलो दिन गोरखा नगरपालिका भित्रका ३७ जना, भिमसेन थापा गाउँपालिकाका ३६ जना र शहिद लखन गाउँपालिका भित्रका ४३ जनाले खोप लगाएका थिए ।
खोप लगाएका कोही कसैलाई पनि समस्या नदेखिएको सूचना अधिकारी ढकालले बताए । गोरखा जिल्लामा खोप लगाउनेहरुकालागि गोरखा अस्पतालमा खोप केन्द्र स्थापना गरिएको छ ।
जिल्लाकोलागि पहिलो चरणमा २ हजार १० डोज अर्थात २०१ भाइल कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्राप्त भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।




















