गोरखा – नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहले गोरखामा निर्वाचन सम्बन्धी कार्यक्रम बहिष्कार गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालय गोरखाको आयोजनामा जिल्ला प्रसासन कार्यालयमा भएको छलफल कार्यक्रममा नेकपाले संसद बिघटनको मुद्दामा अदालतबाट किनारा लाग्न बाँकी रहेका बेला निर्वाचन प्रक्रिया अगाडी बढाउन नहुने भन्दै दाहाल–नेपाल समूहले बहिस्कार गरेका हुन् ।
नेकपाका तर्फबाट कार्यक्रममा सहभागी हुन पुगेका जिल्ला सचिवालय सदस्य यादव बस्नेतले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न आग्रह गर्दै आफ्नो पार्टी निर्वाचन सम्बन्धी कुनै पनि कार्यक्रममा सहभागी हुन नसक्ने भन्दै कार्यक्रमबाट बाहिरिए थिए ।
निर्वाचन कार्यालयले सरकारले आगामी बैशाख १७ र २७ गतेकालागि घोषणा गरेको प्रतिनिधीसभाको मध्याबधी निर्वाचनाको तयारी स्वरुप जिल्ला भित्रका सरोकारवालाहरुसंग छलफल गरेको थियो ।
छलफलमा जिल्ला निर्वाचन अधिकृत टेकबहादुर कोइरालाले निर्वाचन कार्य तालिका बारे सहभागीहरुलाई जानकारी गराइरहेका बेला नेता बस्नेतले पार्टीको आधिकारिक धारणा राखेर कार्यक्रमबाट बाहिरिएको निर्वाचन कार्यालले जनाएको छ ।




















