कालीकोट – गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गरेका छन् ।
प्रेस सङ्गठन नेपाल कालीकोटले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्वाचनको विषय अदालतको फैसलामा भरपर्ने बताएका हुन ।
पत्रकारहरुले वैशाखमा निर्वाचनमा हुन्छ कि हुँदैन भन्ने राखेको जिज्ञासामा मन्त्री थापाले अदालतको फैसलामा भरपर्ने बताए । उनले नेकपा २ भागमा विभाजन भएको र हिजोको निर्वाचन आयोगको निर्णयले विगतको पार्टीलाई आधिकारिकता दिएका कारण आगामी निर्वाचनमा चुनाव चिह्न र पार्टीका विषयमा कानूनी जटिलता आउन सक्ने बताए ।
मन्त्री थापाले पत्रकारहरु कुरा गर्दै चन्द समूहलाई प्रशासनिक र राजनीतिक तवरबाट नियन्त्रण गर्ने राज्यको नीति भएको भन्दै उनीहरुलाई मूल प्रवाहमा आउन आग्रह गरे ।




















