एजेन्सी – भारतमा शनिवार करिब २ लाख मानिसलाई कोरोना भाइरसविरुद्ध खोप दिइएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले पहिलो दिन १ लाख ९१ हजार नागरिकलाई खोप दिइएको जानकारी दिएको हो ।
सरकारले पहिलो दिन करिब ३ लाखलाई खोप लगाउने लक्ष्य राखेको थियो । विश्वकै ठुलो मानिएको खोप अभियान अन्र्तगत भारतले आफ्नै देशमा उत्पादन गरिएका कोभ्याक्सिन र कोभिसिल्ड खोप दिएको हो ।
सिरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड र एस्ट्राजेनेकासँग मिलेर बनाएको कोभिसिल्ड र भारत बायोटेकले भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्सँग मिलेर बनाएको कोभ्याक्सिन खोप भारतमा प्रयोग गरिएको हो ।
खोप लगाएका केही मानिसमा एलर्जीको समस्या देखिएपनि गम्भिर खाले असर नदेखिएको मन्त्रालयले जनाएको छ ।
भारत सरकारका अनुसार पहिलो चरणमा महामारी नियन्त्रणमा खटिएका स्वस्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीलाई खोप लगाईने छ ।
त्यसपछि ५० वर्ष नाघेका र त्यो उमेरका भए पनि जटिल स्वास्थ समस्या भएकाहरूलाई खोप दिने योजना छ । भारतले आगामी जुलाईभित्रमा ३० करोड नागरिकलाई खोप दिने लक्ष्य बनाएको छ ।
पहिलो चरणमा भने करिब ३ करोडलाई निःशुल्क खोप दिने घोषणा गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानलाई कोरोनाविरुद्धको लडाइँको निर्णायक चरण भनेका छन् ।
भारतमा हालसम्म १ करोड ५ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । १ लाख ५२ हजारभन्दा बढीको संक्रमणका कारण मृत्यु भइसकेको छ ।




















