एजेन्सी – दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हाईलाई सर्वोच्च अदालतले २० वर्षका लागि जेल सजाय सुनाएको छ ।
घुस तथा भ्रष्टाचार काण्डमा बिहीबार पार्कलाई अदालतले जेल सजाय तोकेको हो । साथै १८ बिलियन जरिवाना तोकिएको छ ।
कोरियाली स्वतन्त्रताका सैन्य कमान्डर समेत रहेका चुङ हीकी छोरी ग्युनले विभिन्न विदेशी कम्पनीहरुबाट करोडौँ डलर घुस लिएको भन्दै उनीमाथि केही वर्षअघि नै मुद्दा दायर भएको थियो ।
२०१३ देखि २०१६ को बीचमा सामसुङ सहित कम्पनीहरुबाट उनले घुस लिएको पुष्टि भएको हो । उनले देशका जासूस प्रमुखहरुमार्फत ती कम्पनीहरुबाट घुस लिने गरेको खुलासा भएको छ ।
दक्षिण कोरियामा भ्रष्टाचार अभियोगबाट पदमुक्त हुने पार्क पहिलो दक्षिण कोरियाली निर्वाचित राष्ट्रपति हुन् । ६८ वर्षीया ग्युनलाई भ्रष्टाचार अभियोग लागेपछि २०१७ को मार्च ३१ देखि नै कारागारमा रहँदैआएकी हुन् ।
यद्यपि ग्युनले आफूले गल्ती नगरेको दावी गर्दैआएकी थिइन् । बिहीबारको सर्वोच्च अदालतको फैसलामा भने उनी उपस्थित भएकी थिइनन् ।




















