काठमाण्डौं – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासबाट हरिकृण्ण कार्की हटे पछि सो स्थानमा सपना प्रधान मल्ललाई राखिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलासमा आज मल्ललाई चयन गरेका हुन् । न्यायाधीश हरिकृष्ण कार्कीमाथि वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि उनले ‘मुद्दा नहेर्ने’ भन्दै इजलास छाडेका पछि मल्ललाई राखिएको हो ।
इजलासमा यसअघि रहेका न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई आज पनि निरन्तरता दिइएको छ ।
विघटनविरुद्धका मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्ने विवाद भने कायमै छ । रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै पुस २२ गते पूरक निवेदन दिएका थिए ।




















