काठमाण्डौं – गोरखा फुजेलकी गंगामाया अधिकारीको अवस्था चिन्तजनक भएको छ ।
आफ्ना छोराको हत्यारालाई कार्वाहीको माग राखेर लामो समयदेखि पटक पटक अनसनरत अधिकारीको अवस्था नाजुक बन्दै गएको हो ।
न्यायकालागी २२ दिनदेखि अनसनरत अधिकारीको जीवन रक्षाको माग गर्दै अधिकारकर्मीहरुले आज (मंगलबार) काठमाण्डौंको वीर अस्पताल अघि प्रदर्शन गर्दै जीवन रक्षाको माग गरेका छन ।
अधिकारीको स्वास्थ्य विग्रिएको भन्दै सरकारलाई दबाब दिन ‘गंगामाया बचाऔं’ अभियान गर्नुपरेको अधिकारकर्मीले बताए ।
२०६१ साल जेठको २४ गते आफ्ना मावली हजुरबा हजुरआमा भेट्न चितवन गएका बेला गंगामायाका १६ वर्षीय छोरा कृण्णप्रसाद अधिकारीको तात्कालिन माओवादीहरुले हत्या भएको थियो ।
आफ्ना छोराका हत्याराका साथै पतिलाई अनशनमै मर्न विवश बनाउने राज्यका पदाधिकारीहरुलाई समेत कार्वाहीको माग गर्दै गंगामाया १२ औं पटक अनसनमा बसेकी हुन् ।




















