गोरखा – गोरखाको आरुघाट क्षेत्रमा एक युवाले आफ्नै लागनीमा ‘नमूना कृषि फर्म’को स्थापना गरेका छन् ।
आरुघाट गाउँपालिका ८ आरुपोखरी इजारा नमुना टोलका एकनारायण न्यौपानले आफ्नै लगानीमा फर्मको स्थापना गरेका हुन् । न्यौपानेले ५२ रोपनी क्षेत्रफलमा ४२ जातका फलफुल खेती गरिरहेका छन् ।
०७३ सालमा ५ लाख रुपैयाँ लगानी गरेर शुरु भएको खेतीमा अहिले करोड भन्दा बढी लगानी भई सकेको छ । फर्ममा २५ हजार भन्दा धेरै भुईकटहर फलेको सहजै देख्न सकिन्छ ।
न्यौपानेले आफ्नो फर्ममा आँप, लिची, केरा, ड्रागन फ्रुट, नासपाती, रुख कटहर, एभोकाडो, निबुवा, कालो ज्यामिर, सुन कागती, जामुन, उखु र केरा खेती समेत गरेका छन् । विभिन्न जातका ति फलफुलबाट न्यौपानेले बार्षिक ३ देखी लाख रुपैयाँ सम्म आम्दानी लिदै आएका छन् ।
फर्म भित्र माल्दा र आम्रपाली आँप २५० बोट, लिची २५० बोट लगाउनुका साथै ११५ बोट केरा खेती समेत गरिएको छ । सिजन अनुसार फलफुल खान र बिक्री गर्न पाइयोस भनेर उनले नासपाती, रुख कटहर, निबुवा, कालो ज्यामिर, सुन कागती, एभोकाडो, ड्राइगन फ्रुड, जामुन, केरा, भईकटहर तथा उखु खेती गरेको बताए ।
एक बर्षिय तथा बहुबर्षिय फलफूल खेती गर्दै आएका न्यौपानले अहिले सम्म आरुघाट पालिकाबाट पाईप खरिदका सामान्य अनुदान बाहेक सरकारी अनुदान पाउन सकेका छैनन् ।
बिदेश जान भन्दा आफ्नै ठाउँमा केही गर्दा फाइदा होला भनेर कामको थालनी गरेको बताउने न्यौपानेले अनुदान पाएको खण्डमा दोब्बर खेती र आम्दानी हुने बताए । खेतीका लागि अति आवश्यक पानी हो । तर पानी अभावमा ट्यांकरबाट पानी ढुवानी गरेर पनि बोट बिरुवामा हाल्ने गरेको उनको अनुभव छ ।
उनको फर्म भित्र भएको खेतीकालागि पानीको अभाव भएको र त्यसकालागि रकम जुटाउन समस्या परेको उनले गुनासो गरे । उनलाई सिजनमा उत्पादन भएको फलफुल भन्दा बर्षा याममा उत्पादन हुने फलफुल बजार सम्म ल्याउन समेत समस्या भएको छ ।
फर्म संगै रहेको स्तुल खोला बर्षायाममा पार गर्न मुस्किल पर्छ तर पनि बर्षामा घ्याम्पेशालको बाटो प्रयोग गरेर बजार सम्म फलफुल पु¥याउने गरिएको सुनाए । फर्ममा उत्पादीत सबै फलफुल अर्गानिक भएको उनले दावी समेत गरे ।
न्यौपानेले फलफुल बगौचा भित्रै २ वटा पाहुना घर निर्माणको समेत थालनी गरेका छन् । बगैचा भित्र बस्दा रमाईलो पनि हुने र उत्पादीत फलफुल आफैले टिपेर खान पाईने उद्वेश्यका साथ पहुना घर निर्माण गर्न लागेको बताए ।

























