एजेन्सी – बार्सिलोनाका स्टार खेलाडी मेस्सीले एकै क्लबबाट धेरै गोल गर्ने ब्राजिली लिजेण्ड पेलेको कीर्तिमानसँग बराबरी गरेका छन् ।
मेस्सीले एकै क्लबबाट खेल्दै पेलेको ६४३ गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् ।
शनिबार राति भ्यालेन्सियासँग २–२ गोलको बराबरी खेल्दा मेस्सीले बार्सिलोनाबाट १ गोल गरेका थिए । उनले सन् २००५ मा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए । पेलेले सन १९५६ देखि १९७४ सम्म १९ सिजन ब्राजिली क्लब सान्तोषबाट खेल्दै ६४३ गोल गरेका थिए ।
बार्सिलोनका लागि रोनाल्ड अरुजोले १ गोल थपे । भ्यालेन्सियाका दिखाबी र गोमेजले १–१ गोल गरे । बार्सिलोना २१ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । भ्यालेन्सिया १५ अंक सहित १२ औं स्थानमा छ ।
शनिबार राति नै भएको अर्को खेलमा शिर्ष स्थानको एथ्लेटिको मड्रिडले इल्चेलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । एथ्लेटिकोका लागि लुइस स्वारेजले २ र डिएगो कोस्टाले १ गोल गरे । इल्चेका लागि बोयले १ गोल फर्काए । जितपछि शीर्ष स्थानको एथ्लेटिकोको १२ खेलबाट २९ अंक भएको छ ।
शनिबार राति नै भएका अन्य खेलमा रियल सोसिडाड लेभेन्टेसँग २–१ गोल अन्तरले पराजित भएको छ । भिल्ला रियलले ओसासुनालाई ३–१ ले हराएको छ । सेभिल्ला र रियल भालाडोलिडले १–१ गोलको बराबरी खेलेका छन् ।




















