काठमाण्डौं – आर्च्रफ हाकिमीको २ गोलप्रेरित इन्टर मिलानले गएराति बोलोग्नालाई ३–१ ले पराजित गरेको छ ।
जितसँगै इन्टरले शीर्ष स्थानको एसी मिलानसँगको दूरी २ अंकमा घटाएको छ ।
इन्टरले रोमेलु लुकाकुको गोलबाट १६औं मिनेटमा अग्रता लिएको थियो । बेल्जियमका फरवार्ड लुकाकुको पछिल्लो १८ खेलमा यो १७औं गोल हो ।
पहिलो हाफको अन्तिम मिनेटमा हाकिमीले अग्रता दोब्बर बनाए । ६७औं मिनेटमा इमानुएल भिगनाटोले गरेको गोलबाट बोलोग्नाले पुनरागमनको प्रयास गरेको थियो । तर, ७०औं मिनेटमा हाकिमीले अर्को गोल थपेपछि इन्टरले सहज विजय हासिल गर्यो ।
जितसँगै दोस्रो स्थानमा रहेको इन्टरले १० खेलबाट २१ अंक जोडेको छ । जुन एसी मिलानको भन्दा दुई अंकले पछाडि हो ।
मिलानले अझ १ खेल कम खेलेको छ । बोलोग्ना भने १२ अंकका साथ १०औं स्थानमा छ ।




















