काठमाण्डौं – पोर्चुगलको पोर्टोले च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग बराबरी खेल्दै अंक बाँडेको छ ।
दुई खेल अघि नै दुवै टिम अन्तिम १६ मा प्रवेश गरिसकेका क्लब हुन् । आफ्नो घरेलु मैदानमा पोर्टोले सिटीलाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो ।
सिटीविरुद्ध पोर्टोले पूरै खेल अवधिभर रक्षात्मक खेल खेलेको थियो । १८ पटक पोर्टोको पोष्टमा प्रहार गर्दा पनि सिटीले गोल गर्न भने सकेन ।
सुरुवाती समयदेखि आफ्नो नियन्त्रणमा राखे पनि सिटीले गोल गर्न नसकेपछि गोलरहित बराबरीमै चित्त बुझाउनु परेको हो । यसअघि पहिलो खेलमा भने पोर्टोले सिटीसँग ३–१ गोलको हार ब्यहोरेको थियो ।
मंगलबार राति नै समूह ‘सी’ कै अर्को खेलमा मार्सेलीले ओलम्पियाकोसलाई २–१ गोलअन्तरले पराजित गरेको छ । तर यी दुवै टिम समूह चरणबाट दुई खेल बाँकी छँदै बाहिरिसकेका क्लबहरु हुन् ।
समूह ‘सी’ को शीर्ष स्थानमा रहेको सिटीले पाँच खेलबाट १३ अंक बनाएको छ। पोर्टोको पाँच खेलबाट १० अंक छ । पाँचै खेलबाट ओलम्पियाकोस र मार्सेली समान ३–३ अंक बनाउँदै क्रमशः तेस्रो र चौथो स्थानमा छ ।




















