एजेन्सी – स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा युक्रेनी क्लब डाइनामो किभलाई चार शुन्य गोल अन्तरले पराजित गर्दै बार्सिलोना नकआउट चरणमा पुगेको हो ।
किभको मैदानमा बार्सिलोनालाई जित दिलाउन मार्टिन ब्रेथवेटले दुई गोल गरे । सर्जिनो डेस्ट र एन्टोनियो ग्रिजम्यानले एक एक गोल गरे । इटालियन क्लब युभेन्ट्स पनि नकआउट चरणमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा हंगेरीको एफटिसीलाई दुई एक गोल अन्तरले पराजित गर्दै युभेन्ट्स अन्तिम १६ मा पुगेको हो ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरे । एफटिसीका म्यर्टो युज्नीले एक गोल फर्काए । जितसँगै युभेन्ट्सले समूह ’जी’ मा ४ खेलमा ९ अंक जोड्यो ।
नेइमारको गोलको सहयोगमा पिएसजीले जित निकालेर च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ । समूह एच अन्तर्गत मंगलबार राति भएको खेलमा घरेलु टोली पिएसजीले आरबी लेइप्जिगलाई १–० ले पराजित गरेको हो ।
२ खेल बाँकी हुँदा आरबी ६ अंकसहित तेस्रो स्थानमा झरेको छ र समान ६ अंक नै भएको पिएजसी दोस्रो स्थानमा पुगेको छ।



