इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार क्वालिफायर १ का लागि दाबेदार रहेका दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंग्लोर दुवैले पराजय भोगे । मुम्बई इन्डियन्सले दिल्लीलाई र सनराइजर्स हैदराबादले बेंग्लोरलाई ५ विकेटले पराजित गर्यो । दिल्ली र बेंग्लोर दुवै एकतर्फी जस्तो खेलमा पराजित रहे ।
टस हारेपछि ब्याटिङमा आएको विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोरले शारजहाँ क्रिकेट मैदानमा ७ विकेट गुमाई १ सय २० रनमात्र बनाउन सक्यो । जेसन होल्डरले १० बलमा १ चौका र ३ छक्काको मद्दतले अविजित २६ रन बनाएपछि हैदराबादले १४.१ ओभरमै लक्ष्य पूरा गर्यो । दिल्लीले दुबईमा ९ विकेट गुमाई बनाएको १ सय १० रनको झिनो स्कोरलाई मुम्बईले पनि १४.२ ओभरमै पूरा गरेको थियो ।
अन्तिम खेलमा शीर्ष स्थानको मुम्बईमाथि विजय हात पारेमा हैदराबाद प्लेअफमा सुनिश्चित् हुनेछ । दिल्लीमाथिको जितले मुम्बईको क्वालिफायर १ को औपचारिकतालाई पूरा गरेको थियो । अन्तिम खेलमा दिल्लीसँग पराजित भएमा बेंग्लोर प्लेअफबाटै बाहिरिन पनि सक्छ । दिल्ली र बेंग्लोरबीचको खेलमा पराजित हुने टोलीलाई किंग्स इलेभेन पञ्जाबले उछिन्न सक्ने छ । पञ्जाबले आइतबार पुछारको टोली चेन्नई सुपर किंग्ससँग खेल्ने छ ।
१३ खेलको समाप्ति र १ खेल खेल्न बाँकी रहेको अवस्थामा मुम्बई १८, बेंग्लोर र दिल्ली १४–१४, हैदराबाद, पञ्जाब, राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सको १२–१२ अंकसहित क्रमश पहिलोदेखि सातौं स्थानमा रहेका छन् । दोस्रोदेखि सातौं स्थानमा रहने ६ टोली प्लेअफका दाबेदारका रूपमा रहेका छन् । १० अंक रहेको चेन्नई यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ । प्लेअफका लागि अर्को महत्त्वपूर्ण खेल आइतबार कोलकाता र राजस्थानका बीच हुनेछ ।
शारजहाँको सानो मैदानमा ठूलो स्कोर बन्ने अपेक्षा गरिएको थियो तर परिणाम त्यसको ठीक उल्टो आएको थियो । सन्दीप शर्माले बेंग्लोरका देवदत्त पाडिक्कललाई ५ रनमा बोल्ड गरे । सन्दीपले कप्तान कोहलीलाई ७ रनमा आउट गरी हैदराबादलाई ठूलो सफलता दिलाए । ओपनर जोस फिलिप्सले ३१ बलमा ३२ रन बनाए । एबी डी भिलियर्सले २४ बलमा २४ रन बनाए । साहबाज नदिमले डी भिलियर्सको विकेट लिएपछि हैदराबादले खेल नियन्त्रणमा लिएको थियो ।
वासिङटन सुन्दर २१, क्रिस मोरिस ३, इसुरु उडाना शून्य रनमा आउट भए । गुरकिरात सिंहले अविजित १५ रन बनाए । हैदराबादका सन्दीपले ४ ओभरमा २० र होल्डरले ४ ओभरमा २७ रन खर्चेर २–२ विकेट लिए । टी नटराजन, नदिम र रसिद खानले १–१ विकेट लिए ।
हैदराबादको पनि सुरुआत राम्रो रहेन । एक छक्का प्रहार गरेका कप्तान डेबिड वार्नर ८ रनमै आउट भए । उनलाई सुन्दरले आउट गरेका थिए । रिद्धिमान शाह र मनीष पाण्डेले दोस्रो विकेटमा ५० रन जोडे । शाहले ३२ बलमा ४ चौका र १ छक्कासहित ३९ र पाण्डेले १९ बलमा ३ चौका र १ छक्कासहित २६ रन बनाए । दुवैलाई युजभेन्दर चाहालले आउट गरे ।
केन विलियम्सन र अभिषेक शर्मा दुवैलाई ८ रनमा आउट गरेर बेंग्लोर खेलमा फर्किन खोजेको थियो । होल्डरले १३ औं ओभरमा उडाना, १४ औं ओभरमा नवदीप सैनी र १५ औं ओभरको पहिलो बलमा चाहाललाई म्याच विजयी छक्का प्रहार गरे । चाहालले २ विकेट लिनेक्रममा ३.१ ओभरमा १९ रन खर्चेका थिए । सुन्दर, सैनी र उडानाले १–१ विकेट लिए ।
दिल्लीलाई पनि गाह्रो
दुबईमा भएको शनिबारको पहिलो खेलमा जहाँ मुम्बई इन्डियन्सको स्थिति बलियो थियो भने त्यहीं दिल्ली क्यापिटल्सलाई अझ गाह्रो हुने निश्चित भएको छ । दुवैको दोस्रो अन्तिम खेलमा मुम्बई आरामले नौ विकेटले विजयी रह्यो र यो नतिजापछि डिफेन्डिङ च्याम्पियन कम्तीमा शीर्ष दुईमा रहने निश्चित भएको छ । यसको अर्थ मुम्बईले क्वालिफायर–१ खेल्ने पक्का भएको छ । मुम्बईको १८ अंक भएको छ र ढुक्कसँग पहिलो स्थानमा छ ।
टस जितेर पहिले ब्याटिङका लागि ओर्लेको दिल्लीले २० ओभरमा नौ विकेट गुमाएर १ सय १० रन मात्र बनायो । मुम्बईका जसप्रित बुमराह र ट्रेन्ट बोल्टले तीन–तीन विकेट लिए । त्यस अगाडि दिल्लीका कोही पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर शिखर धवनलाई बोल्टले पहिलो ओभरमा शून्यमा आउट गरेपछि दिल्लीले कुनै समय पनि खुलेर खेल्न सकेन् । अर्का ओपनर पृथ्वी शले पनि १० रनमात्र बनाउन सकेन ।
कप्तान श्रेयस अयरले बनाएको २५ रननै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । रिशभ पन्तले २१ रन बनाए । बोल्टले आफ्नो टोलीविरुद्ध ४ ओभरमा २० रनमात्र र बुमराहले ४ ओभरमा १७ रनमात्र खर्चेका थिए । नाथन कटलर निल र राहुल चाहारले १–१ विकेट लिए ।
जवाफमा मुम्बई कुनै पनि समय दबाबमा देखिएन र १४.२ ओभरमा एक विकेट मात्र गुमाएर १ सय ११ रन बनायो । प्रारम्भिक ब्याट्सम्यान इशान किसन ७२ रन बनाएर अविजित रहे । उनले पहिलो विकेटका लागि क्विन्टन डे ककसँग १०.२ ओभरभित्र ६८ रनको साझेदारी गरे र त्यति बेलासम्म खेल दिल्लीको पकडबाट बाहिर गइसकेको थियो । डे ककले २६ रन बनाए । म्यान अफ द म्याच किसनले आठ चौका र तीन छक्का प्रहार गरे । सिजनको अधिकांश समय शीर्ष स्थानमा रहेको दिल्लीको यो चौथो हार हो । अन्तिम खेलमा बेंग्लोरविरुद्ध जित निकाल्न नसके दिल्ली प्लेअफ दौडबाट बाहिरिन पनि सक्छ । जबकी त्यही बेंग्लोरमाथी जित निकाल्न सके दिल्लीले फाइनलमा स्थान पाउन मुम्बईसँग क्वालिफायर १ मा खेल्न पनि सक्छ ।
खेलपछि दिल्ली कप्तान अयरले आफ्नो टिमले पिचको व्यवहारबारे सही अनुमान गर्न नसकेको स्विकारे र टिमको प्रदर्श उतारचढावपूर्ण रहेको माने । ‘हामीले चाँडै पहिलो विकेट सस्तोमा गुमायौं र दबाबमा आयौं । अब हाम्रो लागि अन्तिम खेल गर या मरको जस्तै हुनेछ । त्यो खेल अगाडि हामीसामु सकारात्मक हुनेबाहेक अर्को विकल्प छैन ।’ प्रतियोगिताको सुरुमा राम्रो प्रदर्शन गरेको दिल्लीले पछिल्लो समय भने त्यसलाई दोहोर्याउन सकेको छैन र लगातार खराब प्रदर्शनसँगै दबाबमा आएको छ ।



