यूएफा च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा युभेन्टस आफ्नो घरेलु मैदानमा बार्सिलोनासँग स्तब्ध भएको छ। युभेन्टस रंगशालामा भएको खेलमा बार्सिलोना २–० गोल अन्तरले विजयी भएको हो।
बार्सिलोनाका लागि खेलको सुरुवातमै लिओनेल मेस्सीको पासमा ओस्माने देम्बेलेले गोल गर्दै टिमलाई अग्रता दिलाए। युभेन्टसको डिफेन्सलाई छक्याउँदै उनले जाली चुमाएका हुन्।
त्यस्तै दोस्रो हाफमा १० जनामा सीमित युभेन्टसमाथि बार्सिलोनाले अर्को एक गोल थप्यो। सो गोल मेस्सीले इन्ज्यूरी समयको पहिलो मिनेटमा गरेका हुन्।
खेलको ८५औँ मिनेटमा युभेन्टसका मेरी डिमिरलले बल खोस्ने क्रममा बार्सिलोनाका डिफेन्डरलाई समाएर तानेपछि रेड कार्ड खाएका थिए। पहिलेदेखि नै दबाबमा रहेको युभेन्टस त्यसपछि अझ दबाबमा परेको थियो।
यस्तै अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले आरबी लाइपजीगलाई ५–० गोल अन्तरले पराजित गरेको छ। सब्स्टीच्यूट मार्कस रास्फोर्डको ह्याट्रिकमा म्यान्चेस्टरले शानदार जित निकालेको हो।
खेलको ६३औँ मिनेटमा म्यासन ग्रीनवुडलाई प्रतिस्थापन गरेका मार्कसले खेलको ७४औँ मिनेटमा गोल गर्दै टिमलाई २ गोलको अग्रता दिलाएका थिए। त्यस्तै ४ मिनेटपछि अर्को गोल थपे। उनले इन्ज्यूरी समयको दोस्रो मिनेटमा आफ्नो ह्याट्रिक पूरा गरे।
टिमका लागि पहिलो गोल भने ग्रीनवुडले खेलको २१औँ मिनेटमा गरेका थिए। त्यस्तै अर्को गोल एन्थोनी मार्सलले पेनाल्टी मार्फत् गरेका थिए।



