काठमाण्डौं – पूर्वप्रधानमन्त्री एवं जनता समाजबादी पार्टीका बरिष्ठ नेता डा.बाबुराम भट्टराईले प्रदेशहरुको नामाक।ण जाती र भाषाको आधारमा राख्न नसकिएकोमा सहिदसंग माफी मागेका छन् ।
प्रदेशको नामाकरण जाती र भाषा भन्दा पनि नदीनाला संग मात्र राखिएकोमा आक्रोश ब्यत्त गर्दै ट्वीट मार्फत सहिदहरु संग माफी मागेका हुन् ।
उनले जाती र भाषाको आधारमा प्रदेश नामकरण गर्दा देश टुक्रिन्छ भन्नेहरुलाई भारत र अमेरिकाको उदाहरण हेर्न समेत सुझाब दिएका छन् ।
‘हाम्रा प्रदेशका नाम नदी/भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति/भाषाको पहिचानमा राख्न नहुने ? यो कहाँको मार्क्सवाद/लोकतन्त्र/संघीयता हो ?’ भन्दै डा.भट्टराईले ट्वीटरमा प्रश्न गरेका छन् ।
उनले भारतमा तमिलनाडु, बंगाल, पन्जाब जस्ता राज्य जाती र भाषाको आधारमा राखेको समेत उदाहरण प्रस्तुत गरेका छन् । ट्वीटमा डा.भट्टराईले भनेका छन्, ‘भारतमा जाती र भाषाको नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने ?’
उनले विगतमा मगरात, तमुवान, ताम्सालिङ्, नेवाः स्वायत्त प्रदेशको पक्षपातीहरु अहिले ‘महेन्द्रपथ’मा लागेको भन्दै तत्कालीन माओवादी नेताहरुप्रति व्यंग्य समेत गरेका छन् ।
उनले माओवादी जनयुद्धमा राज्यपक्षबाट ज्यान गुमाउने सबैभन्दा उच्च नेता सुरेश वाग्ले तथा लली रोका लगायतसँग माफीसमेत मागेका छन् ।


