काठमाण्डौं – श्रम स्वीकृति सेवा आजदेखि पुनः सुरु भएको छ । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति सेवा आजदेखि पुनः सुरु भएको हो ।
कर्मचारीमा कोरोना सङ्क्रमण देखिए पछि गएको बुधबारदेखि श्रम स्वीकृतिसहित कार्यालयको सबै सेवा बन्द भएको थियो । भिसाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य देशमा पुग्न नसरी रोजगारी गुमाउने अवस्थामा रहेका श्रमिकहरुको समस्यालाई ध्यानमा राखी आज (सोमबार)देखि पुनः श्रम स्वीकृति र नयाँ श्रम स्वीकृति दिन लागिएको कार्यालयले जनाएको छ ।
कार्यालयमा जानेले भौतिक दूरीका साथै स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउनु पर्ने हुन्छ । कार्यालयमा लगाइएको गोलो चिन्हमा रहेर मात्र सेवा लिन लाइनमा बस्ने र त्यसभन्दा अघि साबुनपानीले हात धुनुपर्ने कार्यालयले जनाएको छ ।
सबै सेवाग्राहीलाई कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर मात्र सेवा लिन कार्यालयले आग्रह समेत गरेको छ ।



