रौतहट – रौतहट बमका फरारम मध्येका बद्री सहानीलाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको राजपुर बमकाण्डका फरार अभियुक्तमध्ये सहानीलाई प्रहरीले आज (शनिबार) पक्राउ गरेको हो ।
पक्राउ परेका सहनी ईटा भट्टाका मुख्य मिस्त्री रहेको प्रहरीले जानकारी दिएको छ । कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दाको फरार अभियुक्त रौतहट बौधिमाई नगरपालिका ४ का ५५ वर्षीय सहनीलाई पक्राउ परेको प्रदेश २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले पुष्टी गरे ।
सहनीलाई नेपाल भारत सिमानामा पर्ने बौधिमाई नगरपालिका ७ बडकी बंकुलबाट पक्राउ गरिएको हो । सहनी घटनाको समयमा ईटा भट्टाको हेड मिस्त्री रहेको र उनले आफताब आलम र महताब आलमको निर्देशन बमोजिम बम विष्फोटनका घाइते तथा मृतकलाई ईटा भट्टाको आगोको भुंग्रोमा हालेको स्वीकार गरेको समेत प्रहरी प्रमुख सिंहले बताए ।
२०६४ चैत २७ गते रौतहटको राजपुर फरहदवामा रहेको नेपाली कांग्रेसका नेता स्वर्गीय शेख इद्रिसको घरमा बम विस्फोट भएको थियो । पहिलो संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा भएको सो विस्फोटमा परी मृत्यु भएका र घाइते भएकाहरुलाई नजिकैको ईटा भट्टामा लगेर पोलेको आरोपमा रौतहट क्षेत्र नम्बर २ का सासंद तथा कांग्रेस नेता आफताव आलम अहिले कारागारमा छन् ।
आलमलाई घटनाको १२ वर्षपछि प्रहरीले २०७६ असोज २६ गते पक्राउ गरेको थियो । आफताल आलमको घर नजिकैको सो स्थानमा विष्फोट हुँदा केही व्यक्तिहरु घाइते भएका थिए । विष्फोटमा परि कति जनाको मृत्यु भएको वा कति व्यक्ति घाइते भएको अहिले सम्म पनि यंकिन हुन सकेको छैन ।


