काठमाण्डौं – मलेसियमा नेपाली कामदार माथी गुण्डागर्दी गर्दै आएका डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठ पक्राउ परेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले डेविड पक्राउ गरेको हो । ब्युरोका अनुसार मलेसियामा बसेर नेपाली कामदारलाई गुन्डागर्दी र अपहरण गरेको भन्दै पीडित पक्षले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।
डेबिडले दाङको पहरुवाका मध्म रैदासलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाएका थिए । रैदासकी श्रीमतीलाई फोन गरेर दुर्गाबहादुर श्रेष्ठको नाममा हिमालयन बैंक लिमिटेडको खातामा ६० हजार रिंगेट जम्मा गर्न भनेका थिए ।
पटक पटक गरी उनले १५ लाख ९२ हजार रुपैयाँ फिरौती असुलेपछि श्रेष्ठले रैदासलाई अपहरण मुक्त गरेको प्रहरीले जानकारी दिएको छ । श्रेष्ठले मलेसियामा डान्सबार तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएको छ ।
डेबिडले मलेसियामा गएका नेपाली कामदारलाई धम्क्याई रकम असुल गर्ने तथा कुटपिट गरी गुण्डागर्दी समेत गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।


