काठमाण्डौं – महाधिवेशनको सुनिश्चितताको माग गर्दै नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आज पार्टीमा विरोध पत्र दर्ता गराएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीलाई विधानसम्मत रुपमा सञ्चालन गरी आगामी महाधिवेशन स्वच्छ र निष्पक्ष वातावरण सम्पन्न गर्ने वातावरण बनाउन माग गर्दै आज पार्टी कार्यालय सानेपामा विरोधपत्र दर्ता गरेका हुन् ।
पत्रमा नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव तथा नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसीलगायत २७ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।
पत्रमा विभागहरुको गठन, भातृसंस्थाको निर्वाचन र क्रियाशिल सदस्यता लगायतका विषय समेटिएका छन् । विधानतः चार वर्षको कार्यकालभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने व्यवस्था भएपनि त्यसको कुनै तयारी नभएको पत्रमा उल्लेख छ ।
२०७७ फागुनभित्र १४ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने प्रमुख दायित्व नेतृत्वकै भएको उनीहरुको ठहर छ । शनिबार पौडेल समूहको भेलाले सभापति देउवालाई दबाब दिन विरोधपत्र दर्ता गर्ने निष्कर्ष निकालेको थियो ।


