गोरखा समाचारदाता
गोरखा – गोरखाको भीमसेन थापा गाउँपालिकामा समुदाय स्तरमा नै कोरोना संक्रमण फैलिए पछि ३ वटा वडालाई सिल गरिएको छ ।
कोरोना संक्रमण थप फैलिन नपावस भनेर गाउँ कार्यपालिकाले ३ वटा वडालाई सिल गरेको हो ।
पालिकाका अनुसार स्थानीय स्तरमा कोरोना संक्रमण देखिएको टोललाई सिल गरिएको छ । अहिले सम्म वडा नम्बर ५ को रिठेपानी, ६ को झिगटे र मोहरीया टोल तथा ८ को महादेवटार क्षेत्रमा ५ जनालाई संक्रमण पुष्टि भइसकेको छ ।
सोही बिषयलाई लिएर शुक्रबार जिल्ला प्रशासन कार्यालय गोरखामा सबेको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण र ब्यवस्थापनको लागि गठिन जिल्ला स्तरीय कमाण्ड पोष्टले वडालाई सिल गर्न र प्रभावकारी गराउन थप सुरक्षाकर्मी खटाउने निर्णय गरेको छ ।
उक्त क्षेत्रमा सबैलाई आउजाउमा रोक लगाइएको छ । पालिकाभित्रका सबै प्रकारको कार्यालय समेत बन्द गर्न भनिएको छ । खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ जस्ता पसलहरु बिहान ६ बजे देखि १० बजेसम्म खुल्न पाउने व्यवस्था गरिएको भीमसेन थापा गाउँपालिकाले जनाएको छ ।
एक साताको लागी सिल गरिएको एउटा वडाबाट अर्को वडाका साथै अत्यावश्यकीय काम नपरी घर बाहिर ननिस्कन समेत पालिकाले अनुरोध गरेछ । अनुरोधलाई वेवास्ता गरेको पाईएमा कानून बमोजिम कारवाही गरिने समेत पालिकाले जनाएको छ ।



