काठमाडौं : डा.डीआर उपाध्यायको गीत ‘घर यस्तो होस्’ सार्वजनिक भएको छ। डीआरको शब्द र स्वर सागर अधिकारी ‘शरद’ को संगीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो।
गीतको भिडियो डीआर म्युजिक एन्ड क्रिएसनमार्फत सार्वजनिक गरिएको छ। गीतकारका रूपमा विभिन्न थुप्रै विश्व रेकर्ड कायम गरेका डा.उपाध्याय गायनमा पनि यो गीतमार्फत देखिएका छन्। सबैको घर स्वर्गजस्तो होस् जसका लागि आवश्यक कुरा के के हुन् भन्ने विषय उपाध्यायले गीतमार्फत प्रस्तुत गरेका छन्।
‘एउटा आदर्श घरको कल्पना गरेर घरका सदस्य सबैले आफ्नो जिम्मेवारी वहन गरून्, हरेकको घरमा सुख शान्ति होस् भन्ने हेतुले मैले यो गीत श्र्रोता÷दर्शकमाझ ल्याएको हुँ’, कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले भने। उपाध्यायको केही समय पहिला सार्वजनिक एल्बम ‘स्वर्गघर’ मा समावेस रहेको गीत हो यो।
१० उपन्यास र सयौं गीतमार्फत पाठक, श्र्रोता तथा दर्शकको मनमस्तिष्कमा बस्न सफल डा.डीआर उपाध्यायको केही समयअघि १२ भाषामा रहेको गीतको एल्बम ‘मायाको सागर’ सार्वजनिक भएको थियो। डा.उपाध्यायका अहिलेसम्म १८ एल्बम र सयौं गीत श्रोता÷दर्शकमाझ आएका छन्।


