काठमाडौं : कोरोना महामारीको लकडाउनमा धेरैजना खुम्चिएर बसेका छन्। आफूले गरेका भातभान्सादेखि कौसी खेती गरेको तस्बिर कतिपयले अपलोड गरिरहेका छन्। अभिनेत्री केकी अधिकारीले भने लकडाउनको सदुपयोग गर्दै आफूले गरेको सिर्जनात्मक गतिविधिको युट्युब बनाउन थालेकी छन्।
केकी अधिकारी अफिसियल नामबाट उनले एक साता पहिले प्रिमियर गरेको ‘माई लस्ट डायरीः पेज नं. वान’ झन्डै १६ हजारले हेरेका छन्। करिब साढे आठ मिनेटको यो युट्युबमा उनले बाल्यकालमा सँगै हाँसखेल गर्ने कक्षा १ देखिसँगै पढ्ने युक्ता प्रधान बालसखाको सम्झना समेटेकी छन्।
आफ्नो पहिलो बेस्ट फ्रेन्ड युक्तासँग दुई दशकदेखि बिछोडिनु पर्दाको पीडा केकीले साटेकी छन्। फेसबुकमा उनको नामबाट सर्च गर्दा फेला पार्न नसकेपछि तनावमा हुन्छिन्। अन्ततः लकडाउनमा फुर्सदै फुर्सदका बेला उनी प्रिय साथीको खोज अभियानलाई जारी राख्छिन्। र, फेला पार्छिन् फेसबुकमा इन्द्रेणीको नामबाट।
इन्द्रेणीले केकीलाई भन्छिन्, ‘मैले तिम्रा हरेक क्रियाकलाप नियालिरहेकी छु। खाली तिम्ले चिन्दिनौ कि भन्ने डरले सम्पर्क गर्न नसकेकी। ’ त्यसपछि केकीको प्रतिक्रिया हुन्छ, आखिर यस्तै अलमलले सम्बन्ध छुट्ने रहेछ। इन्द्रेणीसँगको भेटको खुसीले रमाएकी उनलाई खुसी हुन ठूलो पदक नचाहिने रहेछ भन्ने लाग्छ। उनी सुझाव दिन्छिन्, हामी यस्तै गरौं, छुटेकालाई खोजौं। लकडाउनले छिमेकी पनि बोर भएका होलान्। छतमा गएर मुस्कान साटौं। सामाजिक दूरी कायम राख्दै, मनको दूरी कम गरौं।


