नेपालमा कोरना भाइरस (कोभिड १९) का कारण जारी लकडाउनले मानिसहरू घरभित्रै थुनिएको दुई महिनाभन्दा बढी भइसकेको छ । तर, लकडाउनमा नेपाली चलचित्रका कलाकारहरुले भने धेरै कुरा सिकेका छन् । कोही पुस्तक पढेर समय बिताइरहेका छन् भने कोही खानेकुरा पकाउन सिक्दैछन् । केही कलाकारले लकडाउनकै समयमा सामाजिक सेवालाई पनि निरन्तरता दिए ।
लकडाउनको समयमा अभिनेता अनमोल केसी भने धार्मिक पुस्तक पढिरहेका छन् । बाल्यकालबाटै कृष्णको भक्त रहेका नायक केसीले लकडाउनको समयमा आफूले ‘भागवत गीता’ पढिसकेको छ भागवत गीता पढ्दा मनलाई शान्ति मिलेको बताए ।
उनले भने, ‘जीवनलाई सामान्य तरिकाले बिताउनुपर्छ भन्ने मैले सिकेको छु ।’
अहिले उनी ‘महाभारत’ पढिरहेका छन् । उनी निर्जल्ला एकादशीको दिन बुढानिकलकण्ठमा रहेको कृष्ण मन्दिर परिसरमा पुगेर २४ घन्टा पानी पनि नखाई व्रतसमेत बसेको थिए ।
अभिनेता अनमोल केसी लकडाउन हुनुअघि चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकन मा थिए । प्रोडक्सन हाउसले दशैँमा रिलिज गर्ने टार्गेटअनुसार यो चलचित्रको छायांकन सुरु गरेको थियो । तर, अब लकडाउनले गर्दा चलचित्रका सबै काम रोकिएको छ । यो चलचित्र दशैँमा रिलिज हुन्छ भन्न सकिने अवस्था छैन ।
अनमोलले भने, ‘महाभारतले मलाई जीवनको परिभाषा बुझाएको छ । जीवनलाई सोच्ने तरिका बदलिएको छ । मेरो म शान्त र एकाग्र हुन गएको छ ।’




















