विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सरकारले लकडाउनको घोषणा गरेपछि हरेक क्षेत्र प्रभावित भएका छन् । फिल्म क्षेत्रमा पनि लकडाउनपछि कुनै गतिविधि भएका छैनन् ।
सिनेमा हल पूर्ण रुपले बन्द हुँदा प्रदर्शनको तयारीमा रहेका फिल्म हार्ड डिक्समा थन्किएका छन् भने निर्माणाधिन फिल्मको छायांकन अपुरैमा रोकिएको छ । फिल्मसँग सम्बन्धित सम्पूर्ण काम रोकिँदा हजारौंको संख्यामा बेरोजगार भएका छन् ।
तर, नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा मौलिक फिल्मलाई प्रोत्साहित गर्ने, सातै प्रदेशमा छायांकन स्थल बनाउने र कलाकार संघको भवन निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरे पनि कोरोनाका कारण समस्यामा रहेको फिल्म क्षेत्रका कुनै कुरालाई सम्बोधन गरेन ।
सरकारले भवन निर्माणका लागि बजेट विनियोजन गर्ने भएपछि कलाकार संघ दंग छ । तर, फिल्मसँग सम्बन्धित अन्य संघ संस्थाहरु यस वर्षको बजेटले नेपाली फिल्म क्षेत्रलाई कुनै प्रकारको राहत नमिलेको भन्दै गुनासो गरिरहेका छन् ।
हल सञ्चालक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले बजेटमा सिनेमा हललाई उपेक्षा गरिएको भन्दै असन्तुष्टि जनाएको छ ।
संघका निर्वतमान अध्यक्ष तथा हल सञ्चालक प्रदीप कुमार उदयले आर्थिक वर्ष २०७७/७८ को बजेटमा चलचित्र क्षेत्रलाई अति प्रभावित व्यवसायको रूपमा अन्य व्यवसायलाई जत्ति छुटको दायरामा नराखेकोमा आफू अचम्मित भएको बताएका छन् ।
फेसबुकमा स्टाटस लेख्दै उनले सरकारले फिल्म क्षेत्रलाई प्राथमिकतामा नराखे हलको चाबी बुझाउने पनि चेतावनी दिएका छन् ।


