मुसलमान भाइको फ्रेस हाउसबाट हलाल गरेको मासु किनेर खान्छौं।
मुसलमानको सैलुनमा गएर कमाल मुन्डन गर्छाैं। मुसलमान भाइकै होटल रेस्टुराँ तथा मिठाई पसलमा गएर भोजन गर्छाैं।
छोराले क्रिश्चियन धर्मकी गोरी केटी बिहे गर्दा गर्व गर्छाैं। गोरालाई छोरी दिन पाए झनै अगाडि सर्छाैं।
दमाई दाइले सिलाएको कपडा लगाएर आफूलाई उच्च वर्गको ठान्छौं। कामी दाइले बनाएको महलमा बसेर आफूलाई खान्दानी सम्झन्छौं।
कामी दाइले नै बनाएको मूर्तिमा पूजा गरेर आफूलाई धर्मात्मा घोषणा गर्छाैं । सार्की दाइले सिलाएको जत्ता लगाएर आफूलाई ‘हिरो’ बनाउँछौं ।
त्यति विभिन्न पार्टीको खोल ओढेर प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका नारा लगाउँदै छुवाछुत, समानता, विभेद र मानवअधिकारका भाषण ठोक्दछौं अनि आफूलाई महान् सम्झन्छौं।
कुकुरसँग बसेरसँगै खान्छौं, सँगै सुताउँछौं, चुम्बन गर्छौं तर हिन्दु धर्म भित्रका आफ्नै गोत्रीय दाजुभाइ, सँगैका छिमेकी, आफ्नै देशका दाजुभाइ तथा दिदीबहिनीलाई तल्लो जात र सानो जातको भनेर छुवाछुतको व्यवहार गर्छाैं। घरमा बोलाएर बाहिर खाना दिन्छौं।
विवाहमा बाजा बजाउन बोलाएर पाखामा लगेर खान दिन्छौं। किन त्यसो गरेको भन्दा बूढाबूढी वा बाबुआमाले मान्दैनन् र विस्तारै परिवर्तन हुँदै जान्छ भनेर आफू चोखो बन्छौं। हरे, तिम्रो ठूलो जात। कहिले हुन्छ परिवर्तन ? के हामी यही परिवर्तनका लागि लडेका थियौं?
कलाकार भएको हैसियतले यस्तै जातीय भेदभाव अन्त्य होस् भनेर यही विषयमा फिल्म पनि बनायौं। जातीय विभेद अन्त्य होस् भनेर जनचेतनामूलक नाटक पनि देखाउँदै हिँड्यौं। सबै कुरामा परिवर्तन आयो तर जातीय विभेद कहिल्यै घटेन।
अब यो परिवर्तनका लागि कला क्षेत्रले ठूलो योगदान दिनुपर्ने बेला आएको छ। यो विषयलाई फिल्म, गीतसंगीत, नाटक अनि साहित्यका विभिन्न माध्यमले गहन रूपमा उठाउनुपर्ने भएको छ।


