देश झण्डै २ महिनादेखि लकडाउनमा छ । चीन हुँदै विश्वका कयैन् शक्तिशाली मुलुकलाई समेत आफ्नो पकडमा बनाएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण प्रायः सबै नेपाली घरको चारकुनामा नजरबन्द हुन बाध्य छन् । दिन दुई गुणा, रात चौगुणा बढिरहेको कोरोना संक्रमणका कारण अहिले हरेकको मनमा डर पैदा भएको छ ।
तर, अभिनेत्री करिश्मा मानन्धरले डररहित भएर बाँच्न सुझाव दिएकी छन् । सरकारले कोरोनाको संक्रमण फैलिन नदिन लकडाउन गरेपछि घरभित्रै खुम्चिएकी उनले डरै डरमा जिउन नहुने बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो एक तस्विर पोस्ट्याउँदै उनले क्याप्सनमा लेखेकी छन्, ‘डरै डरमा वर्षौ जिउनुभन्दा डररहित निश्चिन्त भएर एक दिन बाँच्नु धेरै उत्तम ।’
कोरोनाका कारण डर र त्रासमा बाँचिरहेकालाई अभिनेत्री मानन्धरको यो सुझावपूर्ण विचारले केही हदसम्म आत्मबल बढाउन मद्दत गर्ने देखिन्छ । हुन पनि, जब मानिसको मनमा डरले डेरा जमाउन थाल्छ तब आत्मबल कमजोर हुन थाल्छ । यसैले पनि करिश्माले डररहित भएर बाँच्न सुझाव दिएकी हुन सक्छिन् । उनको यो स्टाटसमा धेरैले राम्रो विचार भन्दै प्रतिक्रिया जनाएका छन् ।


