‘स्वदेशमै रोजगारी
स्वदेशमै बास
रोजिँदैन प्रवास
अब गर्ने देश विकास’ (केपी शर्मा ओली)
कविता लेखनमा समेत परिचय बनाएका केपी ओली अब गीतकारका रुपमा पनि चिनिएका छन् । तेह्रौँ गणतन्त्रको दिवसको अवसर पारी केपी शर्मा ओलीको गीत ‘बन्छ नमूना नेपाल’ आज युट्युबमा रिलिज भएको छ ।
गीतमा स्वदेशमा श्रम, विकासनिर्माण, सुशासन, बालबालिकाको विद्यालयमा पहुँच, भरपर्दाे अस्पताल र सामाजिक सुरक्षासहितको नेपालको कल्पना गरिएको छ जुन उनले आफू प्रधानमन्त्री भएपछि ल्याएकाे ‘समृद्ध नेपाल र सुखी नेपाली’को अवधारणामा नै आधारित छ ।
मुलुक बन्दाबन्दीमा परेका बेलामै उहाँले यसै वर्ष वैशाख २० गते रचना गरेको कवितालाई संगीतकार अशोककुमार राईले सङ्गीत भर्नाका साथै सङ्गीत संयोजन गरेका हुन् ।
“प्रधानमन्त्रीको सचिवालयमार्फत हात परेको कविता वैदेशिक रोजगारीमा गएका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई लक्ष्य गरी लेखिएको पाएँ, यस्तो समय सान्दर्भिक रचना पाएपछि गीत बनाउने रुचि लागिहाल्यो”, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य राईले भने ।
‘खेर जान्नन् नदीनाला
बाँझा हुन्नन् खेत
नाङ्गा हुन्नन् डाँडापाखा
यो उर्वर सुन्दर देश ।’(केपी शर्मा ओली)


