गोरखा समाचारदाता
गोरखा – गोरखामा आज (बिहिबार)देखी अत्यावश्यक केही सवारी साधन बाहेक अरुलाई रोक लगाईएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखामा बुधबार भएको बैठकले आज लागु हुने गरी त्यस्तो निर्णय गरेको हो ।
केही साता यता जिल्लामा अत्याधिक सवारी साधन आवतजावत गर्दा कोरोना संक्रमित भित्रिन सक्ने संभावना देखिएको र सवारी पासको दुरुपयोग गरी जिल्ला भित्रने मानिसको संख्यामा बृद्वि हुन थाले पछि कोरोना भाइरस (कोडिभ–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा ब्यवस्थापन गर्नको लागि गठित गोरखा जिल्ला स्तरीय कमाण्ड पोष्टले डाकेको सर्व पक्षिय बैठकले सबै प्रकारको सवारी साधनलाई तत्कालका लागि बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
निर्णय अनुसार ‘तत्काल उपचार आवश्यक परेका भनि चिकित्सकबाट रिफर भएको बिरामी बोकेको एम्बुलेन्स, दुर्घटनामा परी तत्कालै उपचार आवश्यक परेको घाईते बोकेको सवारी साधन, लास एवं मलामी, कृयापुत्री बोकेको सवारी साधन, सुरक्षाकर्मी, सुरक्षा अधिकारी, जिल्लामा कार्यरत स्वास्थ्यकर्मी, प्रेसपास भएको सञ्चारकर्मी तथा वडाध्यक्ष र सो भन्दा माथिका जनप्रतिनिधी सवार सवारी साधनलाई बाहेक जिल्ला भित्र र बाहिर गर्न पुर्ण रुपमा रोक लगाउने’ भन्ने निर्णय भएको छ ।
बैठकले जिल्ला भित्र हुने खाद्यान्न, निर्माण सामाग्री ढुवानीलाई पनि पुर्ण रुपमा बन्देज लगाएको छ । वैठकमा उपस्ति सबैले जिल्ला सदरमुकाममा बैकिङ कारोबार सुरु गर्दा मानिसहरुको भिड बढेको गुनासा गरे संगै जिल्ला भित्र सञ्चालित बैंक, बित्तिय संस्था, बिमा तथा सहरकारीहरुको सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको हो ।
तर दैनिक उपभोग्य बस्तु अन्तरर्गतका खाद्यान्न, तरकारी, पशुपंक्षिका दाना, औषधी तथा माछामासुका पसल भने खोल्न अनुमती दिएको छ । यि बाहेक अन्य सबै प्रकारका पसलहरुलाई खोल्न पुर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।
बैठकले यस भन्दा अगाडी जारी गरेको जिल्ला बाहिर जाने र विकास निर्माण सम्वन्धी सबै ई पासहरुलाई समेत रद्व गरेको छ ।





















