विराटनगर – कोरोना माहामारीका बीच खुल्ला सीमाको फाइदा उठाउदै चोरबाटो प्रयोग गरेर भारतीय नागरिकलाई नेपालबाट भारततर्फ पठाउने २ जनालाई सुरक्षाकर्मीले पक्राउ गरेर मुद्धा चलाएको छ । उनीहरुले लकडाउनको कारण भारत फर्कन नपाएका भारतीय नागरिकलाई प्रति ब्यत्ति भारु १ हजार लिने र भारत तर्फ पठाइदिने गरेको खुलेको छ ।
उनीहरुले मंगलबार राति ४ जना भारतीयहरुलाई चोरबाटो हुदै भारत पठाउन लाग्दा विराटनगर १८ स्थित भेडियारीबाट नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरु ढुवानी सम्बन्धी काम गर्दै आएका विराटनगर ६ का अख्तर आलम र मुबारक हुसैन रहेका छन् । स्थानीयहरुका अनुसार दुवै देशमा लकडाउन भएपछि अलपत्र परेका मानिसहरुलाई रातको समयमा दलालहरुले ५ हजार रुपैयाँ सम्म लिएर सीमा कटाउने गरेको पाइएको छ ।
भारत जान लागेका भारतको राजस्थान स्थित नागौर जिल्लाका सुरेश चौहान, लड्डुराम, गिरीधारीलाल र सामकण रामलाई भारत पठाउन लाग्दा स्थानीयहरुको सहयोगमा सुरक्षाकर्मीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
उनीहरु भेडियारी स्थित रेलवे लिकको छेउबाट उखुबारी हुँदै इस्लामपुरको बाटोबाट भारत प्रवेश गराउन लाग्दा पक्राउ परेका हुन । उनीहरुलाई ईलाका प्रहरी कार्यालय रानीमा राखेर अभद्र मुद्धा चलाइएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिनुभयो ।




















