गोरखा समाचारदाता
काठमाण्डौं – नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज बिहान ११ बजेका लागि धुम्बाराहीमा रहेको कार्यालयमा बैठक बोलाएको हो ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम, सीमा विवादलगायतका विषयमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले धारणा राख्ने श्रोतले जानकारी दिएको छ । सरकारले जारी गरेका दुई अध्यादेश प्रकरणपछि आन्तरिक विवाद बढेकाले यस अघि बोलाइएको बैठक स्थगित गरिएको थियो ।
स्थायी कमिटी बैठकको एजेन्डा तय गर्न बसेको सचिवालय बैठकमा सहमति जुटन नसकेपछि वैशाख २५ का लागि बोलाइएको बैठक २४ गते नै स्थगित गरिएको थियो ।
अध्यादेश प्रकरणपछि प्रधानमन्त्री ओलीको अर्का अध्यक्ष दाहाल तथा बरिष्ठ नेता माधव नेपाल समूहले चर्को आलोचना गरेका थिए । दाहाल–नेपाल समूहका २० स्थायी कमिटी सदस्यले बैठक बोलाउन लिखित पत्र नै अध्यक्षद्वयलाई बुझाएका थिए ।


