सिमकोट-हालसम्म कोरोना भाइसरबाट मुक्त रहेको कर्णाली प्रदेशलाई अनिश्चित समयका लागि नाकाबन्दी गर्ने निर्णय भएको छ । अबेर गरि सकिएको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । छिमेकी जिल्लाहरुको कोरोना संक्रमण बढ्न लागेपछि जोखिम बढ्ने देखिएपछि अनिश्चित कालका लागि नाकाबन्दीको समय बढाएको सामाजिक बिकास मन्त्री दल बहादुर रावलले बताए ।
अब अर्को निर्णय नभएसम्मका लागि यो नाकाबन्दी जारी रहने भएको छ । तर परिस्थितीलाई मध्य नजर गरि दैनिक उपभोग्य सामान, इन्धन, बीउ, बिजन, मलखाद, माछा मासु, दानापानी, बिकास निर्माण र उद्योगका सामाानहरु बोकेका गाडीहरु भने निगरानी राखेर भित्रिन पाउने छन् ।
यसअघिको नाकाबन्दीमा यी सामान मात्र होइन एम्बुलेन्स समेत रोकिएको थियो । त्यसैगरी तत्काल जिल्ला बाहिरबाट आएर सिमामा अलपत्र परेका नागरिकहरुलाई सुरिक्षत रुपमा समन्धित जिल्लासम्म पठाई अनिबार्य रुपमा क्वारेन्टाईनमा राख्ने निर्णय समेत गरेको मन्त्री रावलले बताए ।
त्यस्तै बिरामी, कुरुवा, किरीयापुत्री, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीलाई पनि प्रदेश आउन सहज गराउने निर्णय भएको छ । बाँकेको नेपालगंजमा एक्कै दिन १५ जना कोराना संक्रमित देखिएपछि गत २२ गते कर्णाली प्रदेशले आफ्नो प्रदेश भित्र प्रबेश गर्ने नाकाहरु बन्द गर्ने निर्णय गरेको थियो ।




















