गोरखा समाचारदाता
काठमाण्डौं – संसदीय समितिले पीसीआर परीक्षणलाई वृद्धि गर्दै लान र लकडाउनलाई क्रमश खुकुलो पार्न सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकले पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई बढाउन सरकारलाई निर्देशन दिएको हो ।
समितिले स्थानीय स्तरमा निर्माण गरिएका क्वारेन्टाइनलाई मापदण्ड अनुसार बनाउन, आइसोलेसन बेडहरु पर्याप्त मात्रामा निर्माण गर्न, किसानहरुलाई मल तथा बीउबिजन उपलब्ध गराउन र उत्पादित वस्तु बजार सम्म पुर्याउन सहज बातावरण बनाउन समेत सरकारलाई निर्देशन दिएको छ ।
समितिले विदेशमा अलपत्र परेका कामदार र भारतसँगको सीमावर्ती क्षेत्रमा बसेका मानिसहरुलाई संक्रमण नियन्त्रण सम्बन्धी विश्वव्यापी मापदण्ड अनुसार व्यवस्थित रुपमा घर फर्कने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।
समितिको बैठकमा उपप्रधानमन्त्री एवं कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले विदेशमा रहेका नेपालीहरुको समस्या समाधानका लागि प्रधानमन्त्री स्तरबाटै सम्बन्धित देशमा कुरा भइसकेको र कुनै समस्या भए सम्बन्धित देशले नै समाधान गर्ने बताए ।
यता गृहमन्त्री रामबहादुर थापाले भारतीय सीमा पारी करिब २ हजार १०० नेपालीहरु क्वारेन्टाइनमा रहेको जानकारी दिए । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सरकारसँग उपलब्ध भएका परीक्षण किटहरुको आधारमा कन्ट्याक ट्रेसिङको मापदण्ड बनाई परीक्षण गरीएको बताए । उनले पछिल्लो केही दिन यता पीसीआर प्रविधिबाट गरीने परीक्षणलाई पनि बढाइएको बताए ।


