गोरखा समाचारदाता
गोरखा – गोरखाको २ भिन्न स्थानमा नदीले बगाउदा २ जना बेपत्ता भएका छन् ।
जिल्लाको शहिद लखन र गण्डकी गाउँपालिकामा भएको घटनामा परी २ जना बेपत्ता भएका हुन् । उनीहरुको खोजी कार्य भई रहेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार शहिद लखन गाउँपालिका ३ को भुवनटार स्थित मस्र्याङदी नदीमा पौडी खेल्ने क्रममा बागलुङ जिल्ला बरेङडाडाँ गाउँपालिका १ घरभई हाल तनहुँको आँबुखैरेनी गाउँपालिका ६ बस्दै आएका १९ बर्षिय कृण्णबहादुर पुनःलाई मस्र्याङदी नदीले बगाएको र गण्डकी गाउँपालिका १ मकैसिंङ निवासी १४ बर्षिय बिकास प्रजालाई त्रिशुली नदीले बगाएको हो ।
नदीले बगाएका दुवै जनाको अवस्था अहिले सम्म पनि अज्ञत रहेको प्रहरी कार्यालयले जनाएको छ ।
आँबुखैरेनीबाट साथीहरु संग धारामा नुहाउन गएका पुनःलाई उनका साथीहरुले पौडी नखेल्न आग्रह गर्दा पनि अटेर गरी मस्र्याङदी नदीमा हामफाल्दा नदीले बगाएको हो ।
त्यस्तै गरी मकैसिंङ निवासी चेपाङ आफ्ना बुवा बुद्व प्रजा संग सोही गाउँपालिकाको २ नम्बरमा रहेको गोठेपानीमा माछा मार्न गएका बेला नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएको हो ।


