काठमाडौं, २८ बैशाख । नेपाल सरकारले कोरोना भाइरस महामारीका कारण घोषणा गरेको लकडाउन ४७ औं दिन (आज, आइतबार)देखि केही खुकुलो बनाएको छ उपत्यकामा गुड्ने सवारी साधनका लागि ‘टाइम कार्ड’ लागू गर्दै जारी लकडाउन केही खुकुलो बनाएको हो ।
जसको प्रभाव आइतबार (आज) विहानैदेखि देखिएको छ । उपत्यकाभित्र लकडाउनका कारण अत्यवश्यक सवारी साधन मात्रै चल्न दिइएको भएता पनि सडकमा सवारीको चापमा कुनै कमी देखिएको छैन । केन्द्रीय राजधानी काठमाडौंको महाराजगञ्ज, सुन्धारा, बानेश्वर, जडीबुटी, कोटेश्वरलगायतका क्षेत्रमा पिक आवरको जाम देखिएको छ ।
आजदेखि बैङ्क तथा वित्तीय संस्थाहरुको शाखाहरु पनि सञ्चालनमा आएका छन् । बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनु पर्नेछ ।
त्यस्तै, खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्नेछ । निर्माण सामग्री बोकेका ठूला सवारीलाई बेलुका ८ बजेपछि मात्र बिहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन् ।
सरकारी कार्यालयका कर्मचारीहरू पनि बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्कने समय तोकिएको छ ।


